Sagun Khabar
बैतडीका शक्तिपीठ तथा मन्दिरमा जात्राको रौनक 

बैतडी –बैतडीका विभिन्न शक्तिपीठ तथा मन्दिरमा जात्रा रौनक जारी रहेको छ । कार्तिक शुक्ल पक्षमा बैतडीका प्रसिद्ध धार्मिक स्थलहरुमा जात्रा लाग्ने गर्दछ । जिल्लाको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन जात्रा लाग्ने गरेको स्थानीय आनन्दमणी भट्टले बताए । त्रिपुरासुन्दरीमा तिथी घटबढको असर नपर्ने दिन गनेर जात्रा लाग्ने गरेको उनले बताए । 

त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत आउने गरेका भट्टले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा राँगाको बलीसहित पूजाआजा हुने गरेको छ । 

यस्तै प्रसिद्ध रौलाकेदार धाममा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । केदारको भण्डार घर र माठा केदारमा यो बर्ष जात्रा हुने रौलाकेदार मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

यस्तै शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा पनि कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन जात्रा लाग्ने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

यस्तै पाटन नगरपालिका २ स्थित प्रसिद्ध महारुद्र मन्दिरमा पनि कार्तिक शुक्ल अष्टमीका दिन जात्रा लाग्ने गर्दछ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं ४स्थित सनेशरीमाण्डौंमा कार्तिक शुक्ल षष्ठीका दिन जात्रा लाग्ने गरेको पूजारी विष्णुदत्त भट्टले बताए । 

बैतडीको प्रसिद्ध मेलौली भगवती मन्दिर र सुर्नयास्थित फाल्ङासैनी भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन मेला लाग्ने गर्दछ । विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्रामा बसाईसराई गरेर गएकाहरु पनि पुख्र्यौली थलोमा फर्कने गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update