बैतडी –नेपाली कांग्रेस बैतडीले दलित संघ बैतडीका अध्यक्ष रमेश कोलीलाई पार्टीबाट निष्कासन गरेको छ । कोलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीले बताए । आगामी ५ बर्ष सम्म पार्टीको साधारण सदस्य समेत नरहने गरेर कोलीलाई कारवाही गरिएको जोशीले बताए ।
पार्टीको निर्णय विपरीत स्वतन्त्र उम्मेदवारको मुख्य प्रचारकको भूमिकामा रहेका कोलीलाई स्पष्टीकरण सोध्दा समेत स्पष्टीकरण नदिएकाले पार्टीको विधान अनुसार निष्कासन गरिएको जोशीले बताए ।
पार्टीको आधिकारिक उम्मेदवारको विरुद्धमा लागेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको आचारण र अनुशासन विरुद्ध विभिन्न मिडियामा बोलेको भन्दै कोलीलाई निष्कासन गरिएको कांग्रेस बैतडीले जनाएको छ ।
यस्तै नेपाली कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पनि स्पष्टीकरण सोधिएको छ । पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’उम्मेदवारलाई सहयोग गरेको भन्ने प्रमाण प्राप्त भएकाले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
पार्टीको विधान विपरीत कार्य गरेको हो वा होइन ? त्यस बिषयमा कार्तिक १६ गतेभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । स्पष्टीकरण पेश नगरेमा साधारण सदस्य समेत नरहने गरी पार्टीबाट कारवाही गरिने सचिव जोशीले बताए ।
कोली यसअघि नै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा खुलेर लागेका थिए भने ऐरले आइतबार पत्रकार सम्मेलन मार्फत आफू स्वतन्त्र उम्मेदवारको पक्षमा रहेको बताएका थिए ।





