बैतडी –बैतडीको शिवनाथ गाउँपालिकास्थित शिवनाथ धाममा जात्रा सुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमीबाट जात्रा शुरु भइ कार्तिक शुक्ल अष्टमीका दिन पूजाआजा सहित जात्रा समापन हुने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष पदमसिंह धनाडीले बताए ।
शिवनाथ धाममा भगवना शिवको बासस्थान रहेको धार्मिक मान्यता अनुसार टाढा–टाढाबाट समेत भक्तजनहरु आउने गरेका छन् । नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत शिवनाथको जात्रामा आउने गरेको स्थानीय बिरबहादुर चन्दले बताए ।
शिवनाथको मेलामा भकुण्डो खेल्ने परम्परा रही आएको र यो नै जात्राको मुख्य आकर्षण रहेको धनाडीले बताए । धनाडी र साउँद थरका भक्तजनहरुले छालाबाट बनेको भकुण्डो खेल्ने परम्परा रही आएको छ ।
शिवनाथको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । शिवनाथको जात्रालाई भव्य रुपमा सम्पन्न गर्नका लागि मेलास्थललाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ । यस्तै मेलास्थलमा कसैले जुवातास खेलेको पाइएमा कारवाही हुने समेत जनाइएको छ ।




