Sagun Khabar
बैतडी कारागारमा अस्थायी मतदान केन्द्र, ५ जना कैदीबन्दीले मतदान गर्न पाउने

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बैतडीमा एउटा अस्थायी मतदान केन्द्र रहने भएको छ । जिल्ला कारागार बैतडीमा अस्थायी मतदान केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । 

सो अस्थायी केन्द्रबाट कारागारमा रहेका ७५ जना कैदीबन्दी मध्ये ५ जनाले मतदान गर्न पाउने भएका छन् । ५ जनाको मात्रै मतदाता नामावलीमा नाम रहेकाले उनीहरुले मात्रै मतदान गर्न पाउने फुँयालले बताए । अस्थायी मतदान केन्द्रबाट प्रतिनिधि सभाको समानुपातिक तर्फमात्रै मतदान गर्न पाइने व्यवस्था रहेको छ । 
जिल्ला कारागारमा रहेको अन्य ७० जना कैदीबन्दी मतदाता परिचय पत्र नभएकाले उनीहरुले मतदानबाट वञ्चित हुने भएका जिल्ला कारागारका जेलर धारा भण्डारीले बताइन् । 

अस्थायी मतदान केन्द्रमा निर्वाचनमा नखटिएका र मतदाता नामावलीमा नाम भएका कर्मचारीहरुले प्रतिनिधि सभाको समानुपातिक तर्फ मतदान गर्न पाउने फुँयालले बताए । निर्वाचनमा खटिएका कर्मचारीहरुले भने खटिएकै ठाउँबाट मतदान गर्न पाउनेछन् । उनीहरुले पनि प्रतिनिधि सभाको समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने फुँयालले बताए । ती कर्मचारीहरुको मतदाता नामावलीमा नाम भने हुनुपर्ने उनले बताए । 

बैतडीमा १ हजार ३७३ जना अस्थायी मतदाता रहेका छन् । 

प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update