बैतडी –बैतडीको दशरथचन्द नगरपालिकास्थित प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा जात्रा शुरु भएको छ । जिल्लाको प्रमुख शक्तिपीठ मध्येको त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल पक्षको अष्टमीमा पशु बलि सहित जात्रा हुने गरेको स्थानीय आनन्दमणी भट्टले बताए ।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा यो बर्षको जात्रा शुरु भइसकेको उनले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा नेपालका मात्रै नभएर भारतका दर्शनार्थी समेत आउने गरेका छन् । भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरु आउने दशरथचन्द नगरपालिका वडा नं ८ का वडा अध्यक्ष चामुसिंह थापाले बताए । उनले भने ‘त्रिपुरासुन्दरी भगवती मन्दिरको दर्शनका लागि नेपालका मात्रै नभएर भारतका दर्शनार्थीहरु समेत आउने गरेका छन् । यो मेलामा हजारौं दर्शनार्थीहरु पुग्ने गरेका छन् ।’
कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीनरात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रही आएको छ । यो जात्रामा बसाईसराई गरेर अन्यत्र गएकाहरु समेत पुख्र्यौली थलोमा फर्कने गरेका स्थानीय गणेशदत्त भट्टले बताए ।
त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रही आएको छ । रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।




