Sagun Khabar
निर्वाचन सामग्री आइपुग्यो बैतडी 

बैतडी –आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि बैतडीमा पनि तयारी तीव्र पारिएको छ । मंसिर ४ गतेको चुनावमा लागि आवश्यक निर्वाचन सामग्री जिल्ला आइपुगेको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए । प्रत्यक्ष तर्फको मतपत्र बाहेक अन्य सामग्री जिल्लामा आइपुगेको उनले बताए ।

निर्वाचनका लागि आवश्यक समानुपातिक तर्फको मतपत्र, स्वस्तीक छाप, कपडा, मतपेटिका लगायतका निर्वाचन सामग्री जिल्लामा पुगीसकेको निर्वाचन अधिकारी फुँयालले जानकारी दिए । 

प्रत्यक्ष तर्फको मतपत्र आइसकेपछि सबै मतदान केन्द्रका लागि सामग्री छुट्याएर राखिने उनले बताए । मतदान अधिकृतहरुलाई कार्तिक अन्तिम साता तालिम दिने तयारी समेत भइरहेको फुँयालले बताए । उनले भने ‘निर्वाचनका लागि आवश्यक तयारी भइरहेको छ । निर्वाचन आयोगका तर्फबाट निर्वाचन सामग्री आइसकेको छ ।’

बैतडीमा आसन्न निर्वाचनका लागि १२९ ओटा मतदानस्थल कायम गरिएको छ भने २१० ओटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला कारागारमा एउटा अस्थायी मतदान केन्द्र कायम गरिएको फुँयालले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  ०८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update