बैतडी –बैतडीको तल्लोसोराड क्षेत्र महाकाली नदीसंग जोडिएका बस्तीका नागरिकले महाकाली नदीमा झोलुंगे पुल बनाउनेलाई भोट दिने बताएका छन् । विगतमा पुल बनाउने आश्वासन पाएपनि त्यो पूरा नभएको भन्दै उनीहरुले महाकाली नदीमाथि झोलुंगे पुल बनाउनेहरुलाई भोट दिने बताएका हुन् ।
लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार अहिले तल्लोसोराड क्षेत्रमा घरदैलो अभियानमा छन् । घरदैलो अभियानमा पुगेका उम्मेदवारलाई स्थानीयहरुले पुल बनाउनुपर्ने माग गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) र प्रदेश सभा सदस्य उम्मेदवार शिवराज भट्टसंग स्थानीय मतदाताहरुले पुल बनाउनुपर्ने माग गरेका हुन् ।
स्थानीय मतदाताहरुको माग सुनेपछि दुवै उम्मेदवारले पुल निर्माणको कुरालाई प्राथमिकता राखेको बताएका छन् । उनीहरुले स्थानीयहरुसंग पुल निर्माणका लागि आफूहरुले पहल गर्ने बचन दिएको नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । उनले भने ‘स्थानीयहरुले महाकाली नदीमा पुल, बिजुली लगायतका माग राखेका छन् । त्यो बिषयमा उम्मेदवारहरुले स्थानीयका माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।’
यस्तै केही दिन पहिला तल्लोसोराड पुगेका एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर भण्डारीलाई पनि स्थानीयहरुले पुल बनाउनुपर्ने माग गरेका थिए । विगतदेखि आफूहरुको पुल बनाउनुपर्ने माग रहेकाले अहिले पनि सोही माग दोहर्याएको स्थानीय बिरबहादुर चन्दले बताए । उनले भने ‘हामीले भोट माग्न आउने उम्मेदवारहरुलाई महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको माग राखेका छौं । विगतदेखिको हाम्रो माग पूरा भएको छैन् । जसले माग पूरा गर्ने आधार दिन्छ उसलाई भोट दिन्छौं ।’
महाकाली नदीमाथि झोलुंगे पुल नहुँदा तल्लोसोराडबासीले डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । भारतसंग सीमा जोडिएका नागरिक विभिन्न कामका लागि भारतीय बजारमा पुग्ने गरेका भएपनि पुल नहुँदा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता रहेको चन्दले बताए । उनले भने ‘हामी वारीपारी जाने गरेका छौं । पारी आफन्तहरु समेत छन् । तर डुंगा चढेर महाकाली तर्दा निकै जोखिम रहेको छ ।’
महाकालीमाथि झोलुंगे पुल निर्माणको कुरा जहिले पनि चुनावी एजेण्डा मात्रै बन्ने गरेको मेलौलीका स्थानीय केशवसिंह भाटले बताए । महाकाली नदीमाथि झोलुंगे पुल निर्माणको कुरा यो भन्दा पहिलाका चुनावमा पनि एजेण्डा बनेकाले यो माग पूरा गर्नेलाई मतदाताले भोट दिने उनले बताए । उनले भने ‘भारतसंग हाम्रो रोटी–बेटीको सम्बन्ध छ । तर पुल नहुँदा आवतजावतमा निकै समस्या भएको छ । भारत सरकारसंग कुरा गरेर पुल बनाउनेलाई हामी भोट दिन्छौं ।’
महाकाली अन्तर्राािष्ट्रय सीमा नदी भएकाले भारतको सहमति बिना पुल बनाउन सम्भव छैन् । यसका लागि भारतसंग सहमति गर्नुपर्ने हुन्छ । नेपालमा रहेका शक्तिपीठ तथा मन्दिरमा भारतीय दर्शनार्थीहरु आउने भएकाले पुल निर्माणको कुरा उनीहरुको माग समेत रहेको छ ।




