बैतडी –निर्वाचन नजिक आएपछि अहिले उम्मेदवारहरु घरदैलो अभियानमा व्यस्त रहेका छन् । बैतडीमा विभिन्न शक्तिपीठ तथा मन्दिरहरुमा लाग्ने जात्राको अवसर पारेर अहिले उम्मेदवारहरु जात्रामै पुगेर भोट माग्न थालेका छन् ।
शिवनाथ धामको जात्रामै पुगेर गठबन्धनका उम्मेदवार र एमालेका उम्मेदवारहरुले भोट मागेका हुन् । जात्रामा सहभागी भएकाहरुसंगै देउडा खेलेर उम्मेदवारहरुले भोट मागेका हुन् ।
घरदैलो अभियानको क्रममा बैतडी तल्लोसोराडमा रहेका गठबन्धनका उम्मेदवारहरु भोट माग्दै जात्रामा सहभागी भएका नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । प्रसिद्ध शिवनाथ धामको जात्राको अवसरमा देउडा खेल्दै उम्मेदवारहरुले भोट मागेको उनले बताए ।
गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) र प्रदेश सभा (ख)मा प्रदेश सभा सदस्यका उम्मेदवार रहेका नेपाली कांग्रेसका नेता शिवराज भट्टले जात्रामा सहभागी भएर भोट मागेका हुन् ।
यस्तै एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार दामोदर भण्डारी र प्रदेश सभा (ख)का उम्मेदवार लिलाधर भट्ट पनि जात्रामै सहभागी भएका छन् । जात्रामा सहभागी हुँदै उनीहरुले पनि मतदाताहरुसंग भोट मागेका छन् । एमालेका उम्मेदवारहरु चुनाव प्रचारप्रसारको सिलसिलामा जात्रामा पुगेका स्थानीय नरेश तिवारीले बताए ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रकाशचन्द्र भट्ट पनि जात्रामा सहभागी भएका छन् । जात्रामा सहभागी भएर उनले मतदाताहरुलाई मत दिन आग्रह गरेका छन् ।
शिवनाथ धामको जात्रामा देउडा खेल्दै उम्मेदवारहरुले स्थानीय मतदाताहरुसंग मत मागेका छन् । आफ्ना चुनावी एजेण्डा सहित उम्मेदवारहरु जात्रामा सहभागी भएका हुन् ।
जात्रामा धेरै मानिसहरु एकै ठाउँमा भेटिने भएकाले आफूहरुले जात्रामा सहभागी भएर भोट मागेको प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)ले बताए । उनले भने ‘अहिले हामी घरदैलो अभियानमा छौं । नागरिकसंग भोट माग्नका लागि जात्रामा समेत सहभागी भयौं ।’
तल्लोसोराड क्षेत्रका धेरै नागरिक शिवनाथको जात्रामा भेटिने भएकाले सोही मौका पारेर जात्रामा सहभागी भएको प्रदेश सभा (ख)का उम्मेदवार शिवराज भट्टले बताए । उनले भने ‘हामीले जात्रामा धेरै मतदाताहरुलाई भेट्यौं । आफ्ना एजेण्डाहरु पनि राख्यौं । जात्रामै पुगेर मत माग्यौं ।’
चुनाव नजिक आएपछि अहिले उम्मेदवारहरुले विभिन्न तरीकाले मतदातालाई फकाउन थालेका छन् । उनीहरु आफ्ना चुनावी एजेण्डा सहित चुनावी मैदानमा उत्रेका छन् । बैतडीमा प्रतिनिधि सभाको एक सीटका लागि ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।




