Sagun Khabar
बैतडीको प्रसिद्ध महारुद्र मन्दिरमा जात्रा सुरु 

बैतडी –बैतडीको पाटन नगरपालिका –२ स्थित प्रसिद्ध महारुद्र धाममा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । महारुद्र मन्दिरको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन भण्डार लगेसंगै जात्रा शुरु भएको हो । 

पाटन नगरपालिका २ सिमोडामा रहेको भण्डार घरबाट कार्तिक शुक्ल सप्तमीका दिन मन्दिरमा भण्डार लग्ने चलन रही आएको छ । शुक्ल सप्तमीको राति र कार्तिक शुक्ल अष्टमीको बिहान महारुद्र देवताको गातमा पूजाआजा गर्ने चलन रही आएको स्थानीय वसन्त पन्तले बताए । 

देवताका धामी काँपेर चौलो जाने यो जात्राको मुख्य आकर्षण रहेको बताइएको छ । रातिको समयमा सिगास देवताको खोजी र बिहानको ग्वाल्लेक केदारको खोजी धामी काँपेर चौलो जाने परम्परा रही आएको छ । 

महारुद्र देवताको दर्शन गरेमा मनोकामना पूर्ण हुन जनविश्वास रही आएकाले पाटन क्षेत्रका मात्रै नभएर विभिन्न ठाउँका दर्शनार्थीहरु जात्रामा पुग्ने गरेका पन्तले बताए । महारुद्र मन्दिरमा असोजको नवरात्र, चैत नवरात्रमा पनि पूजाआजा हुने गरेको छ । ठूलो जातको रुपमा कार्तिक शुक्ल सप्तमी र अष्टमीको जात्रालाई मान्ने गरिन्छ । महारुद्र मन्दिरमा लाग्ने जात्राको अवसरमा पाटन नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update