बैतडी –जिल्ला निर्वाचन कार्यालयले बैतडीको पाटनमा मंगलबार आयोजना गरेको नमूना मतदानमा ७ मत बदर भएको छ । आसन्न निर्वाचनलाई ध्यानमा राखेर पाटन बजार क्षेत्रमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
एकजनाले ४ मतपत्रमा मतदान गर्नुपर्ने भएकाले ७१ जनाले मतदान गर्दा २८४ मत खसेकोमा ७ मत बदर भएको फुँयालले बताए । मतदान गर्ने तरीकाको बारेमा जानकारी दिनका लागि नमूना मतदानको आयोजना गरिएको उनले बताए । जिल्लाका १० ओटै स्थानीय तहमा नमूना मतदान सम्पन्न गरिने फुँयालले जानकारी दिए ।
जिल्ला निर्वाचन कार्यालयले शहरी क्षेत्रमा मात्रै नमूना मतदान कार्यक्रम सञ्चालन गरेकाले ग्रामीण क्षेत्रमा नमूना मतदान सञ्चालन गर्न सहभागीहरुले सुझाव दिएका छन् । तर समयको अभावले पालिकाका केन्द्रहरु नजिक रहेका बजार क्षेत्रमा मात्रै नमूना मतदान सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी फुँयालले जानकारी दिए ।
यो चुनावमा मतदाता शिक्षा समेत सञ्चालन नभएकाले बदर मतको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । ग्रामीण क्षेत्रका धेरै नागरिकलाई मतदान गर्ने तरीकाका बारेमा थाहा नहुँदा समस्या हुन सक्ने आँकलन गरिएको छ । तर निर्वाचन कार्यालयले भने धेरै पटक निर्वाचन भइसकेकाले मतदाता नअलमलिने दाबी गरेको छ ।




