बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाको हाट स्थित राताशीला त्रिवेणी धाममा लाग्ने कफलखाना गिरेगडा मेलाको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचना उल्लेख गरिएको छ ।
हरिबोधनी एकादशीको दिन कफलखाना गिरेगडा मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ । आज र भोलि नगरपालिका क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था लगायत सार्वजनिक निकाय बन्द रहने बताइएको छ ।
कफलखाना गिरेगडा मेलालाई पुर्चौंडी क्षेत्रको सबैभन्दा ठूलो मेलाको रुपमा लिने गरिन्छ । यो मेलामा भकुण्डो खेल्ने परम्परा रही आएको छ । यो नै मेलाको मुख्य आकर्षण रहेको स्थानीयहरुले बताएका छन् ।
यस्तै कफलखाना गिरेगडा मेलाको अवसरमा नगरपालिकाले खुल्ला देउडा प्रतियोगिता समेत सञ्चालन गरेको छ । हिजोदेखि शुरु भएको प्रतियोगिता आज सकिने जनाइएको छ ।
कला संस्कृति जगेर्ना हाम्रो अभियान, कफलखाना गिरेगडा मेला पुर्चौंडीको पहिचान’ भन्ने मूल नारा सहित ड्यौडा प्रतियोगिता सञ्चालन भइरहेको हो ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद १५ हजार, दोश्रो हुनेलाई नगद १० हजार, तेश्रो हुनेलाई नगद साढे सात हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद ५ हजार पुरस्कार वितरण गरिने बताइएको छ ।
यस्तै मेलालाई शान्तपूर्ण रुपमा सञ्चालन गर्नका लागि मेलास्थललाई मदिरा तथा जुवातास निषेधित क्षेत्र घोषण गरिएको छ । कसैले मदिराको कारोबार र सेवन तथा जुवातास खेले अथवा खेलाएको पाइएमा कानुन अनुसार कारवाही हुने बताइएको छ ।




