बैतडी- बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पशु बलि सहित जात्रा सम्पन्न भएको छ । दशरथचन्द नगरपालिका वडा नं ८ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज पशु बलि सहित जात्रा सम्पन्न भएको हो । कार्तिक १४ गते देखि पूजापाठ भएर मन्दिरमा आज पशुबलि सहित जात्रा सम्पन्न भएको मन्दिरका मुखिया चन्द्र सिंह थापाले जानकारी दिए ।
त्रिपुरासुन्दरी भगवती मन्दिरमा राँगा र बोकाको बलीसहित पूजाआजा सम्पन्न भएको उनले बताए । त्रिपुरासुन्दरी भगवती मन्दिरमा आज ८० राँगा र ८० बोकाको बलि दिइएको मुखिया थापाले बताए ।
यो मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।
यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । जिल्लाको प्रमुख शक्तिपीठ मध्येको त्रिपुरासुन्दरी भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल पक्षको अष्टमीमा पशु बलि सहित जात्रा हुने गरेको स्थानीय जय सिंह धमीले बताए ।
कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीनरात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रही आएको छ । त्रिपुरासुन्दरीलाई रणशैनी भगवतीको नामले समेत पूजाआजा गर्ने चलन रही आएको छ । रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ ।




