बैतडी- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोलि बैतडी आउने भएका छन् । नेकपा एमाले जिल्ला कमिटि बैतडीको आयोजनामा पाटनमा हुने विशाल चुनावी आमसभालाई सम्बोधन गर्न अध्यक्ष ओली बैतडी आउन लागेका हुन् ।
अध्यक्ष ओली आउने भएपछि पाटन बजार र चुनावी आमसभा स्थल पाटनको खुल्ला मञ्च अहिले सिंगारिएको छ । पाटनमा आयोजना हुने विशाल आमसभाका लागि सबै तयारीहरु पुरा भैसकेको एमाले बैतडीले जनाएको छ ।
प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गरेर राखिएको चुनावी आमसभालाई एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । चुनावी देश दौडाहको सुरुवात गर्न ओली सुदूरपश्चिम आउन लागेको हुन् । भोलि उनि दार्चुलामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने र त्यसपछि पाटन आउने बताइएको छ ।
बैतडीबाट प्रतिनिधिसभामा पूर्व अर्थराज्य मन्त्री समेत रहेका दामोदर भण्डारी प्रनिनिधिसभा सदस्यको उम्मेदवार रहेकाछन् । उनी तेस्रो पटक चुनाव लड्दै छन् ।
यस्तै प्रदेशसभा (क)मा पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाल उम्मेदवार छन् भने क्षेत्र नं (ख)मा पार्टी केन्द्रीय सदस्य लिलाधर भट्ट उम्मेदवार रहेकाछन् । यसैगरी एमाले बैतडीबाट समानुपातिक तर्फ प्रदेशसभामा जानकी ऐर बम र भरत मडै उम्मेदवार रहेकाछन् ।




