Sagun Khabar
चुनाव जित्ने कांग्रेस उम्मेदवार बिष्टको दाबी, कांग्रेसमा शुद्धीकरण हुने भनाइ 

बैतडी –नेपाली कांग्रेस बैतडीका उपसभापति एवं प्रदेश सभा सदस्यका उम्मेदवार बिरबहादुर बिष्टले चुनाव जित्ने दाबी गरेका छन् । रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै उम्मेदवार बिष्टले माओवादी केन्द्रसंगको गठबन्धन समेत भएकाले चुनाव जित्न गाह्रो नभएको बताए । 

कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई इंगित गर्दै उम्मेदवार बिष्टले नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले कांग्रेसको रुख चिन्हमा मतदान गर्ने बताए । उनले भने ‘कसैले बागी उठ्दैमा पार्टीको उम्मेदवार पछाडि पर्दैनन् । नेपाली कांग्रेसले चुनाव जित्ने कुरामा ढुक्क छु ।’

स्वतन्त्र उम्मेदवार भण्डारीलाई मण्डलेको संज्ञा दिदै बिष्टले यो चुनावले नेपाली कांग्रेसलाई शुद्धीकरण हुन सहज हुने बताए । उनले भने ‘केही अवसरवादीहरु पार्टीमा आएका थिए । उनीहरु आँफै किनारा लागेका छन् । अब बैतडी कांग्रेस शुद्धीकरण हुनेछ ।’

पार्टी निर्णय र विधान विपरीत जाने जो कसैलाई पनि पार्टीका तर्फबाट कारवाही हुने चेतावनी दिँदै उम्मेदवार बिष्टले सच्चा कांग्रेसीहरु कसैको बहकाउन नलाग्ने बताए । आफ्ना विरुद्ध ‘बागी’उम्मेदवारी दिएका हरिमोहन भण्डारीलाई उनले अवसरवादीको संज्ञा समेत दिएका छन् । उनले भने ‘राजनीतिको हिसाबमा भण्डारी नाती पुस्ताका हुन् म बाजेको पुस्ताको हुँ । म नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसमा आएको हुँ ।’
 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १८, २०७९  १८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update