बैतडी –भारतसंग सीमा जोडिएको झुलाघाट नाकामा महाकालीमाथि पक्की पुल निर्माणको कुरा केही बर्ष यता चुनावी एजेण्डा बन्दै आएको छ । झुलाघाट नाकामा मोटरबेल पुल बन्नुपर्ने यहाँका स्थानीयहरुको माग रही आएको भएपनि त्यो माग अहिले सम्म पूरा हुन सकेको छैन् ।
विगतका निर्वाचनदेखि झुलाघाटमा पक्की पुल निर्माणका कुरा राजनीतिक दलहरुले चुनावी एजेण्डा बनाउने गरेका छन् । विगतका निर्वाचनहरुमा समेत झुलाघाटमा पक्की पुल निर्माणको कुरा उठाएका दलका नेताहरु यो चुनावमा पनि यो पक्की पुल निर्माणको कुरा उठाइरहेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको पाटनमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै झुलाघाटमा पक्की पुल एमालेले निर्माण गर्ने बताए । एमालेको सरकार बनेमा झुलाघाटमा पक्की पुल निर्माण गर्ने उनको दाबी थियो ।
एक महिना अघि मात्रै बैतडी पुगेका कांग्रेस केन्द्रिय सदस्य रमेश लेखकले पनि झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा सरकार बने झुलाघाटमा मोटरेबल पुल बन्ने उनको आश्वासन थियो ।
झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि उद्योग वाणिज्य संघको अगुवाईमा एक महिने रिले अनशन समेत सञ्चालन भएको थियो । त्यो अनशनमा सांसद लगायत पार्टीका नेताहरु पुगेर झुलाघाटमा पक्की पुल बनाउन पहल गर्ने आश्वासन दिएका थिए ।
झुलाघाटमा पक्की पुल निर्माणको माग यहाँका जनताको धेरै बर्ष पहिलादेखिको भएपनि अहिले सम्म पूरा हुन नसकेको बैतडी उद्योग वाणिज्य संघका उपाध्यक्ष खिमानन्द भट्टले बताए । भारतले तयार नहुँदा सम्म यो पुल निर्माण हुने कुरामा विश्वास नरहेको उनको भनाइ छ । उद्योग वाणिज्य संघकै पहलमा १० हजार नागरिकको हस्ताक्षर सहित भारतीय दूतावास र नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदा समेत यो माग पूरा नभएको उनको भनाइ छ ।
झुलाघाट नाका पुरानो नाका हो । यो नाका भएर अहिले पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरु रोजगारीका लागि भारत जाने गरेका छन् । यो नाकामा पक्की पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा समेत असर परीरहेको छ । तर पुल निर्माणको कुरा चुनावी ऐजेण्डा मात्रै बन्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन् । झुलाघाटमा पक्की पुल निर्माणको कुरा चुनावका बेला जहिले पनि उठ्ने गरेको तर काम नहुने एजेण्डाको रुपमा रहेको स्थानीय पुष्कर भट्टले बताए ।
झुलाघाटमा नाकामा डेढ सय बर्ष पुरानो झोलुंगे पुल रहेको छ । इष्टइण्डिया कम्पनीले निर्माण गरेको झोलुंगे पुल जीर्ण भइसकेको छ ।




