बैतडी- दशैं तिहारलाई लक्षित गरेर बैतडीमा स्थापना गरिएका यात्रु सहायता कक्षबाट ४ हजार बढीले सेवा लिएका छन् । असोज पहिलो साताबाट सञ्चालनमा आएका यात्रु साहयाता कक्षबाट ४ हजार ३८ जनाले सेवा लिएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोक राज जोशीले जानकारी दिए ।
उनका अनुसार सदरमुकाम गोठलापानीमा स्थापना गरेको यात्रु यहायता कक्षबाट १ हजार जना, झुलाघाटबाट १३ सय ४०, सतबाँझबाट ४ सय १९ जनाले सेवा लिएका छन् । यस्तै पाटनमा रहेको यात्रु सहायता कक्षबाट १ सय ३७ , खोचलेकमा ३ सय ५०, गोकुलेश्वरमा४ सय ४२ र खोड्पेमा रहेको यात्रु सहायता कक्षबाट ३ सय ५० जनाले सेवा लिएका छन् ।
क्षमता भन्दा बढी यात्रु बोक्न नदिन, तोकिएको भाडाभन्दा बढी भाडा लिन नदिन र यात्रुहरुलाई सहजताका साथ गन्त्व्यमा पुर्याउन यात्रु सहायता कक्ष स्थाना गरिएको थियो ।
दशैं तिहारका बेला यात्रुहरुलाई गन्त्व्यमा पुर्याउनका लागि सहज होस भनेर जिल्लामा प्रहरीले यात्रु सहायता कक्षबाट सेवा प्रवाह गर्दै आएको छ । यात्रु सहायता कक्षमा छठ पर्व सम्म सेवा दिइएको जिल्ला प्रहरी कार्यालयका बैतडीले जनाएको छ ।




