खर काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु
बैतडी – बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खर काट्ने क्रममा भीरबाट लडेर सिगास गाउँपालिका ४ बरमका अन्दाजी ४५ बर्षीया गौरा बोहराको मृत्यु भएको स्थानीय मीनबहादुर बोहराले बताए ।
खर काट्नका लागि शनिबार बिहानै घर नजिकैको सिउँडाधार भन्ने भीर गएका बोहराको लडेर मृत्यु भएको उनले बताए । उनी भीरबाट तल खोलामा खसेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो चलिरहेको छ । हिउँदमा गाईवस्तुका लागि खर काटेर थुपार्ने चलन रही आएको छ । खर काट्ने क्रममा भीरबाट लडेर बर्षेनी धेरै महिलाहरुले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९ १३:३४
प्रतिक्रिया दिनुहोस्




