बैतडी –पछिल्लो समयमा बैतडीमा किसानहरुले हल गोरु पाल्न छोडेका छन् । खेतबारी जोत्नका लागि प्रत्येक घरमा एक हल गोरु पाल्ने चलन रहेको भएपनि पछिल्लो समयमा आधुनिक कृषि औजारको प्रयोगसंगै त्यो चलन हटेको छ ।
खेतीको समयमा मिनि टिलर, ट्याक्टर जस्ता आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएको डिलाशैनीका स्थानीय गणेश बोहराले बताए । घेरै जसोको घरमा आजभोली गोरु नभएको उनले बताए । समथर किसिमको जमीन ट्याक्टर र केही भिरालो किसिमको जमीनमा मिनि टिलरको प्रयोग गरेर खेत जोत्ने गरिएको उनले बताए ।
बर्षभरी गोरु पालेर खेतबारी जोत्ने समयमा मात्रै काम लाग्ने भएकाले गोरु पाल्नुभन्दा आधुनिक कृषि औजारबाट खेतबारीको काम गर्न सजिलो भएको डिलाशैनीका अर्का स्थानीय विरेन्द्र बोहराले बताए । उनले भने ‘समान्य खर्चमै कृषि औजारहरुको प्रयोग गरेर खेतबारी जोत्न सकिन्छ । गोरु पाल्ने झण्झट भन्दा कृषि औजारको प्रयोग सहज हुने गर्दछ ।’
पछिल्लो समयमा गाउँगाउँमा मिनिटिलरले खेत जोत्ने गरिएको सुर्नयाका स्थानीय गणेशदत्त अवस्थीले बताए । गहुँ छर्ने बेला गोरुले जोत्ने गरेकोमा अहिले मिनिटिलरले खेत जोत्ने गरेको उनले बताए ।
आधुनिक कृषि औजारहरुले किसानहरुको कार्यबोझ समेत घटाएकाले यसमा किसानहरुको आकर्षण बढ्दै गएको पाटन नगरपालिकाका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । कृषि औजारहरुले किसानहरुलाई सजिलो भएकाले यसको प्रयोग बढ्दै गएको उनले बताए । उनले भने ‘खेत जोत्नका लागि अहिले मिनिटिलरको व्यापक प्रयोग हुन थालेको छ । कृषि यन्त्रहरुमा किसानहरुको आकर्षण बढेको छ । यसले किसानहरुको कार्यबोझ समेत घटाएको छ ।’




