Sagun Khabar
बसाई बैतडीमा कर डडेल्धुरामा, स्थानीयबासी समस्यामा 

बैतडी –जिल्लाको मेलौली नगरपालिका ८ का प्रेमसिंह बिष्टले २०३२ सालदेखि आफ्नो घर जग्गा बापतको कर डडेल्धुरामा तिर्दै आएका छन् । बसोबास बैतडीमा भएपनि उनले डडेल्धुरामा कर तिर्न थालेको ४२ बर्ष बढी भईसकेको छ । उनले भने ‘पहिला यो क्षेत्र हाम्रो डडेल्धुरा जिल्लामै थियो । पछि बैतडी जिल्लामा गाभियो । तर नापनक्सा सबै डडेल्धुरामा भएकाले वडा नं ८ का नागरिक डडेल्धुरा गएर कर तिर्न बाध्य भएका छौं ।’

प्रेमसिंह बिष्ट जस्तै वडा नं ८ का चारसय बढी परिवारले राज्यलाई तिर्नुपर्ने घरजग्गाको कर डडेल्धुरा गएर तिर्नुपर्ने अवस्था रहेको स्थानीयहरुले बताएका छन् । २०३२ साल भन्दा अघि मेलौली नगरपालिकाको वडा नं ८ डडेल्धुरा जिल्लाको भागेश्वरमा गाउँपञ्चायतमा थियो । पछिल्लो सीमांकन गर्दा सुर्नया नदीलाई सीमा मानेपछि मेलौली नगरपालिका वडा नं ८ विशालपुर बैतडी जिल्ला अन्तर्गत प¥यो । तर नापी नक्सा सबै डडेल्धुरामै भएकाले उतै कर तिर्नुपर्ने बाध्यता रहेको स्थानीय पदमसिंह ठगुन्नाले बताए । उनले भने ‘अहिले पनि हामीले डडेल्धुरामै कर तिर्ने गरेका छौं । कर तिरेबापत हामीले केही सुविधा पाएका छैनौं । आफ्नो वडा कर डडेल्धुरालाई तिर्नुपर्दा वडाको आन्तरिक आम्दानी समेत केही छैन् ।’

मेलौली नगरपालिका वडा नं ८ का बासिन्दाले घरजग्गाको कारोबार गर्नुपरेमा कित्ताकाट देखि लिएर जग्गा पास गर्न समेत डडेल्धुरा नै पुग्नुपर्ने बाध्यता छ । हरेक निर्वाचनका समयमा स्थानीयहरुको समस्या समाधान गर्ने आश्वासन दिने गरिएको भएपनि अहिले सम्म समस्या समाधान हुन सकेको छैन् । ‘हामीले यो समस्या समाधानका लागि जहिले पनि माग राखेका छौं । तर हाम्रो माग अहिले सम्म पूरा हुन सकेको छैन् ।’

मालपोतको स्रेस्ता बैतडीमै कायम गर्न पहल गरिए पनि डडेल्धुरा मालपोत कार्यालयले मन्त्रिपरिषद्को निर्णयले मात्रै बैतडीमा स्रेस्ता कायम हुने जानकारी दिएको बैतडीको मेलौली नगरपालिका–८ का वडाध्यक्ष तपेन्द्र विष्टले बताए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update