Sagun Khabar
बैतडी कांग्रेसले धमाधम कारवाही थाल्यो, पाटन सभापति ऐर पार्टीबाट निष्कासित 

बैतडी –नेपाली कांग्रेस बैतडीले पार्टीको विपक्षमा काम गरेको भन्दै नेता कार्यकर्ताहरुलाई धमाधम कारवाही गर्न थालेको छ । पार्टीबाटै ‘बागी’उम्मेदवार बनेकाहरुलाई सहयोग गरेको भन्दै विभिन्न जिम्मेवारीमा रहेका नेताहरुलाई कारवाही गरिएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 

स्पष्टीकरण सोध्दा समेत पार्टीमा स्पष्टीकरण नबुझाउनेहरुलाई कारवाही गरिएको नेपाली कांग्रेस अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताए । 

कांग्रेसका पाटन नगरसभापति मानबहादुर ऐरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको उनले बताए । ‘बागी’उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा लागेको भन्दै ऐरलाई स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण नबुझाएपछि उनलाई ५ बर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको संयोजक जोशीले बताए । 

नेपाल दलित संघका जिल्ला अध्यक्ष रमेश कोलीलाई यसअघि नै पार्टीबाट निष्कासन गरेको थियो । यस्तै राप्रपा नेपालबाट प्रदेश सभामा उम्मेदवारी दिएका कांग्रेसकी पाटन नगर सहसचिव कृष्णा पन्तलाई पनि पार्टीबाट निष्कासन गरिएको छ । यस्तै मेलौली नगरपालिका वडा नं ५ का वडा सभापति परमानन्द पन्तलाई पनि पार्टीबाट निष्कासन गरिएको जोशीले बताए । 

पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै महाधिवेशन प्रतिनिधि सरस्वती कोली र सिगास गाउँपालिका उपसभापति धनबहादुर साउँदलाई स्पष्टीकरण सोधिएको कांग्रेस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update