बैतडी –आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि स्थानीय तहको जस्तो चुनावी रौनक नभएको स्थानीयबासिन्दाहरुले बताएका छन् । गाउँघरमा कामको चटारो भएकाले पनि चुनावमा त्यति ध्यान केन्द्रित हुन नसकेको डिलाशैनी ३ का स्थानीय गणेशसिंह बोहराले बताए । उनले भने ‘स्थानीय चुनावमा गाउँघरकै उम्मेदवार हुन्थे । गाउँकै सरकार चुन्नुपर्ने थियो । अहिले त्यस्तो छैन् । कहिलेकाँही नेताहरु गाउँमा पुग्छन् ।’
दुगर्म बस्तीहरुमा अझै पनि चुनावी चहलपहल नबढेको डिलाशैनी १ की धौली रानाले बताइन् । गाउँमा भोट माग्नका लागि अझै कोही पनि नआएका उनले बताइन् । उनले भनिन् ‘हामीलाई चुनावमा भोट मात्रै माग्ने त हुन् नि । पछि फर्केर हेर्दैनन् । त्यसैले हामीलाई चुनाव आए नआएपनि आफ्नै काम कसरी गर्ने पीर छ ।’
स्थानीय तहको निर्वाचनमा एकै गाउँका धेरै उम्मेदवार भएकाले पनि गाउँमा चुनावको चहलपहल बढेको थियो । तर अहिले स्थानीय तहको चुनाव जस्तो रौनक नभएको मेलौलीकी स्थानीय लक्ष्मी कार्कीले बताइन् । स्थानीय तहको निर्वाचनको तुलनामा उम्मेदवार पनि कम भएकाले चुनावी चहलपहल कम भएको उनले बताइन् । उनले भनिन् ‘अहिले गाउँलेहरु पनि आफ्नो काममा व्यस्त छन् । नेताहरु अझै गाउँघरमा पुग्न बाँकी रहेको छ ।’
बैतडीमा उम्मेदवारहरुले घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका भएपनि स्थानीयबासिन्दा भने आफ्नै काममा व्यस्त रहेका छन् । गहुँ छर्ने, खर काट्ने काममा स्थानीयहरु व्यस्त रहेका डिलाशैनीकी अनुष्का भट्टले बताइन् । उनले भनिन् ‘नेताहरु गाउँमा आएर आश्वासन मात्रै दिने त हुन नि । गाउँमा कामको चटारो भएकाले निर्वाचनतिर त्यति ध्यान दिएका छैनौं ।’
बैतडीमा प्रतिनिधि सभा सदस्यको १ सीटका लागि ११ जना चुनावी मैदानमा छन् । यस्तै प्रदेश सभा (क)मा एक सीटका लागि ६ जना र प्रदेश सभा (ख) मा एक सीटका ५ जना चुनावी मैदानमा रहेका छन् ।




