बैतडी- बैतडीको सत्तबाँझ बजारमा सरसफाइ गरिएको छ । प्रहरी र म्यादी प्रहरीले बजार परिसरमा सरसफाइ गरेका हुन् । आइतबार प्रहरी र म्यादी प्रहरीले बजार परिसरमा सरसफाई गरेका सतबाँझ प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।
आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि आएका म्यादी प्रहरी र चौकीमा कार्यरत प्रहरीको टोलीले बजारमा सरसफाइ गरेको उनले बताए । बजार क्षेत्रमा फोहर देखिएपछि पर्यावरण सफा र स्वच्छ राखेर मानव अनुकुल बनाउन सरसफाइ गरिएको म्यादी प्रहरी पदम राज भट्टले बताए ।
दशरथचन्द र महाकाली राज मार्गको बिच भागमा रहेको सतबाँझ बजार पछिल्लो समय व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको छ । सुर्नया गाउँपालिकाको मुख्य बजार सतबाँझमा अहिले बासवसाइको व्यवस्था सहितका होटेल सञ्चालनमा छन् भने दैनिक उपभोग्यका सामान, लत्ताकपडा,निर्माण सामग्री समेत पनि पाइन्छन् ।
झुलाघाट लगायतका बजारमा गएर सामान ल्याउने यहाँका नागरिकहरु अहिले सतबाँझ बजारमा सामान खरिद विक्री गर्ने गरेका छन् । व्यापारिक केन्द्रका रुपमा विकास हुँदै गएको यो बजारमा सार्वजनिक शौचालय भने छैन् ।
सतबाँझ बजारमा सार्वजनिक शौचालय नहुँदा किनमेलका लागि बजार आउने नागरिकहरुलाई धेरै समस्या हुने गरेको स्थानीय राजेन्द्र भट्टले बताए । बजारमा सार्वजनिक शौचालय निर्माणका अवाज उठे पनि सम्बन्धित निकायको भने ध्यान जान सकेको छैन् ।




