बैतडी –जिल्ला निर्वाचन कार्यालयले आइतबार बैतडीका दुईओटा स्थानीय तहमा नमूना मतदान सम्पन्न गरेको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नमूना मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले बताए ।
मतदान गर्ने तरीकाका बारेमा मतदाताहरुलाई जानकारी दिनका लागि नमूना मतदान कार्यक्रम सञ्चालन गरिएको उनले बताए । डिलाशैनीमा भएको नमूना मतदान ३ मत र दोगडाकेदारमा ३ मत बदर भएका जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए ।
नमूना मतदान कार्यक्रममा कसरी मतदान गर्ने भन्ने बिषयमा जानकारी दिने गरिएको फुँयालले बताए । यसअघि पाटन नगरपालिकाको पाटन बजार क्षेत्रमा नमूना मतदान सम्पन्न गरिएको थियो ।
जिल्लाका १० ओटै स्थानीय तहमा नमूना मतदान कार्यक्रम सञ्चालन गर्ने योजना रहेको फुँयालले बताए । यो चुनावमा एकजना मतदाताले चारओटा मतपत्रमा मत दिनुपर्ने भएकाले सो कुराको जानकारी दिने गरिएको उनले बताए ।




