Sagun Khabar
बैतडीको मेलौलीमा आज र भोलि सार्वजनिक बिदा 

बैतडी –बैतडीको मेलौली नगरपालिकाले आज र भोलि दुई दिन सार्वजनिक बिदा दिएको छ । मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लाग्ने जात्राका लागि नगरपालिका क्षेत्रभरी दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । 

मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने भएकाले सो दिन नगरपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बित्तीय संस्थाहरुमा सार्वजनिक बिदा दिइएको हो । 

मेलौली भगवती मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन पशु बलि सहित जात्रा हुने गरेको छ । सो जात्रामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् । मेलौली भगवती मन्दिरमा लाग्ने जात्रालाई स्थानीयहरुले सबैभन्दा ठूलो पर्वका रुपमा लिने गरेको जगदम्बा मावि खलिगाडका प्रधानाध्यापक पदमराज जोशीले बताए । 

यो जात्राका लागि काम बिशेषले घर बाहिर रहेकाहरु समेत घर फर्कने गरेका छन् । जात्राका लागि स्थानीयहरुले नयाँ लुगा किन्ने चलन रही आएको छ । गौरा भन्दा बढी महत्व दिएर जात्रा मनाउने चलन रही आएको छ । जात्रा नजिक आएपछि मेलौलीमा जात्राको चहलपहल बढीसकेको छ । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  ०७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update