बैतडी –आसन्न निर्वाचनमा बैतडीबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार रहेको अधिवक्ता त्रिलोकबहादुर चन्दले राजनीतिक दलहरुबाट निर्वाचित भएकाहरुले नागरिकको पक्षमा काम गर्न नसकेको बताएका छन् ।
रेडियो निङ्गलाशैनीको कार्यक्रम जनचासोमा बोल्दै उम्मेदवार चन्दले दलका प्रतिनिधिहरुले गरेका गलत काम विरुद्ध आफ्नो उम्मेदवारी रहेको बताए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा लगायतका दलहरुबाट निर्वाचित प्रतिनिधिहरुले विकासको नाममा सिन्को नभाचेको उनले आरोप लगाए ।
व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्थामा परिवर्तन नआएको बताउँदै चन्दले राजनीतिक दलहरुप्रति वितृष्णा फैलिएको दाबी गरे । दलका नेताहरुले ग्रामीण क्षेत्रका नागरिकमा द्वन्द फैलाएको उनको आरोप रहेको छ । उनले भने ‘राजनीतिक दलहरु स्खलित भइसकेका छन् । त्यसैले नागरिकहरु अब स्वतन्त्रको पक्षमा लागेका छन् ।’
मत माग्नका लागि घरदैलो अभियानमा रहेका चन्दले स्वतन्त्रको पक्षमा चुनावी माओल बन्दै गएको दाबी गरे । दलबाट उम्मेदवार बनेकाहरुले पुरानै एजेण्डा मतदाता सामू लगेको र ती एजेण्डा कहिले पनि पूरा नगरेकाले अहिले मतदाताले मत परिवर्तन गर्ने बताए ।
बैतडीमा प्रतिनिधि सभा सदस्यको एक सीटका लागि तीन स्वतन्त्र सहित ११ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।




