बैतडी –नेपाली कांग्रेसले पार्टीका सिगास गाउँपालिका उपसभापतिलाई पार्टीबाट निष्कासन गरेको छ । सिगास गाउँपालिका समिति उपसभापति धनबहादुर साउँदलाई पार्टीबाट साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको नेपाली कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीले बताए ।
साउँदले पार्टीको विधान विपरीत काम गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको अनुशासन उल्लंघन गरेकाले पार्टीबाट निष्कासन गरिएको जोशीले बताए । उनलाई ५ बर्षका लागि पार्टीको साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको जनाइएको छ । साउँदलाई स्पष्टीकरण सोध्दा समेत स्पष्टीकरण नदिएकाले पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ ।
यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै कांग्रेसले पाटन नगर सभापति मानबहादुर ऐर, दलित संघका जिल्ला अध्यक्ष रमेश कोली लगायतलाई निष्कासन गरिसकेको छ । पार्टीका पाटन नगर सहसचिव कृष्णा पन्तले राप्रपा नेपालबाट उम्मेदवारी दिएकाले उनलाई पनि पार्टीबाट निष्कासन गरिसकिएको कांग्रेसले जनाएको छ ।
पार्टीको निर्णय विपरीत जाने जो कोहीलाई पनि कारवाही हुने अनुशासन समिति संयोजक जोशीले बताए ।




