Sagun Khabar
बैतडीको प्रसिद्ध मेलौली र फाल्ङासैनी भगवती मन्दिरमा जात्रा 

बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा जात्रा शुरु भएको छ । हरेक बर्ष कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन सो मन्दिरमा ठूलो जात्रा लाग्ने गर्दछ । 

आज तीनओटा भण्डार घरबाट मेलौली भगवतीको मन्दिरमा भण्डार पुर्याउने चलन रही आएको छ । यो जात्राको मुख्य आकर्षण भगवतीको सवारी रहेको स्थानीयहरुले बताएका छन् । मेलौली भगवतीको दर्शनका लागि हजारौं दर्शनार्थीहरु मेलौली पुगिसकेका जगदम्बा मावि खलिगाडका प्रधानाध्यापक पदमराज जोशीले बताए । उनले भने ‘मेलौली भगवतीको दर्शनका लागि टाढाटाढाबाट भक्तजनहरु आइसकेका छन् ।’

जिल्लाको तल्लोसोराड क्षेत्रमा मेलौली भगवतीको जात्रालाई सबैभन्दा ठूलो पर्वका रुपमा मान्ने गरिएको जोशीले बताए । यो जात्राका लागि काम बिशेषले घर बाहिर रहेकाहरु समेत घर फर्कने गरेका छन् । 

कार्तिक शुक्ल चतुर्दशीका दिन भाकल अनुसार राँगा मन्दिरमा लगेर बाँध्ने चलन रही आएको छ । कार्तिक शुक्ल पूर्णिमाका दिन राँगाको बलिसहित जात्रा सम्पन्न हुने गरेको जोशीले बताए । 

यस्तै जिल्लाको सुर्नया गाउँपालिका ५ बरायलस्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा पनि जात्रा शुरु भएको छ । कार्तिक शुक्ल चतुर्दशीबाट मन्दिरमा जात्रा शुरु भएर कार्तिक शुक्ल पूर्णिमाका दिन राँगाको बलि सहित जात्रा समापन हुने गरेको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । 

सो जात्रामा सुर्नयाका साथै आसपासका पालिकाहरुबाट समेत दर्शनार्थीहरु पुग्ने गरेका छन् । हरेक बर्ष सो मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन जात्रा लाग्ने गरेको पूजारी भट्टले बताए । 

विभिन्न शक्तिपीठ तथा मन्दिरमा लाग्ने जात्राहरुलाई आपसी सद्भाव कायम गर्ने पर्वका रुपमा समेत लिइन्छ । पहिला पहिला भेटघाटका लागि समेत जात्रा निकै महत्वपूर्ण मान्ने गरिएको थियो । अहिलेको जस्तो सूचना प्रविधिमा पहुँच नभएकाले पहिला इष्टमित्र आफन्तजनसंगको भेट गर्ने महत्वपूर्ण समयको रुपमा जात्रालाई लिने गरिएको मेलौली नगरपालिकाका पूर्व नगर प्रमुख कृष्णसिंह नायकले बताए । उनले भने ‘मन्दिर तथा शक्तिपीठहरुमा लाग्ने जात्रा आफन्तजनहरुसंगको भेटघाटका लागि पनि महत्वपूर्ण छन् । यो बेला टाढाटाढाका आफन्तहरुसंग समेत भेटघाट गर्ने गरिएको छ ।’
 

प्रकाशित मिति: सोमबार, कात्तिक २१, २०७९  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update