बैतडी –बैतडीका तीन स्थानीय तहमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । जिल्लाको दशरथचन्द नगरपालिका, मेलौली नगरपालिका र सुर्नया गाउँपालिकामा आज सार्वजनिक बिदा दिइएको सम्बन्धित स्थानीय तहहरुले जनाएका छन् ।
दशरथचन्द नगरपालिकास्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा जात्रा लाग्ने भएकाले मंगलबार नगर क्षेत्रभित्र सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यस्तै प्रसिद्ध मेलौली भगवती मन्दिरमा सोमबारदेखि जात्रा शुरु भएकाले नगर क्षेत्रमा सोमबार र आज (मंगलबार) दुई दिन सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ ।
यस्तै सुर्नयास्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरको जात्राको अवसरमा सुर्नया गाउँपालिकाले पनि आज सार्वजनिक बिदा दिएको छ ।
सार्वजनिक बिदा दिएका स्थानीय तहभित्र रहेका सरकारी तथा गैरसरकारी निकाय, शिक्षण संस्था, बित्तीय संस्था लगायत बन्द रहने स्थानीय तहहरुले जनाएका छन् ।




