बैतडी –बैतडीका अधिकांश विद्यालयहरुमा सेनेटरी प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा किशोरीहरुलाई समस्या हुने गरेको छ । महिनावारी भएको समयमा विद्यालयहरुले किशोरीहरुलाई प्याड उपलब्ध गराउने भएपनि अधिकांश ठाउँमा प्याड व्यवस्थापनको समस्या रहेको किशोरीहरुले बताएका छन् ।
महिनावारी भएको समयमा विद्यालयबाट प्याड पाइने भएपनि प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने उपयुक्त ठाउँ नहुँदा समस्या हुने गरेको डिलाशैनीस्थित सरस्वती मावि नानराकी छात्रा अनुष्का भट्टले बताइन् । उनले भनिन् ‘विद्यालयबाट सेनेटरी प्याड पाइन्छ तर प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या हुने गरेको छ । महिनावारी भएको समयमा प्याड फेर्न समेत समस्या रहेको छ ।’
प्रयोग गरेको सेनटरी प्याड चार चार घण्टामा फेर्नुपर्ने भएपनि छात्रामैत्री शौचालय नहुँदा विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई समस्या हुने गरेको छ । प्याड फेर्न र प्रयोग गरेको प्याडलाई व्यवस्थापन गर्न साह्रै समस्या हुने गरेको दुर्गा मावि सीमारकी छात्रा सुस्मिता बोहराले बताइन् । उनले भनिन्‘महिनावारी भएको समयमा प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा बीचमै कक्षा छोडर घर फर्कनुपर्ने बाध्यता रहेको छ । छात्रामैत्री शौचालयको समेत अभाव रहेको छ ।’
प्याड व्यवस्थापनका लागि आवश्यक संरचना निर्माण नहुँदा छात्राहरुलाई समस्या हुने गरेको जगदम्बा मावि खलिगाडकी छात्रा सरीता जोशीले बताइन् । महिनावारी सरसफाइका बिषयमा थाहा भएपनि प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा समस्या भएको छ । उनले भनिन् ‘महिनावारी भएको समयमा प्याड फेर्न र प्रयोग गरेको प्याड व्यवस्थापन गर्ने ठाउँ नहुँदा हामीहरुलाई समस्या हुने गरेको छ । यसले हाम्रो पढाईमा बाधा पुग्ने गरेको छ ।’
बैतडीका विभिन्न स्थानीय तहमा रुपान्तरण कक्षा मार्फत महिनावारी सरसफाइका बिषयमा छलफल हुने गरेको छ । किशोरकिशोरी समूहमा हुने छलफल मार्फत सेनेटरी प्याडको प्रयोग र यसको व्यवस्थापनका बिषयमा जानकारी दिने गरिएको सहजकर्ता हरु भट्टले बताइन् । यी कक्षाहरुमा हुने छलफलबाट आफूहरुले विद्यालयमा समेत आवाज उठाउने गरेको उनले बताइन् । उनले भनिन् ‘अधिकांश विद्यालयमा प्याड व्यवस्थापनमा समस्या रहेको छ । त्यसैले हामीले विद्यालयहरुमा प्याड व्यवस्थापन गर्ने ठाउँ बनाउन आग्रह गरेका छौं ।’
सेनेटरी प्याड व्यवस्थापनका लागि गाउँपालिकाभरीका विद्यालयहरुको अवस्थाका बारेमा जानकारी लिने र त्यसपछि आवश्यक योजना बनाउने डिलाशैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । उनले भने ‘हामीले छात्राहरुको समस्याका बिषयमा जानकारी पाएका छौं । यो समस्या समाधानका लागि पहल गर्छौं ।’




