Sagun Khabar
देउवा र प्रचण्ड भोलि बैतडी आउँदै, पाटनमा चुनावी सभा 

बैतडी –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भोलि बैतडी आउने भएका छन् । लोकतान्त्रिक –बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि दुवै नेता बैतडी आउन लागेका हुन् । 

बैतडीको पाटनमा भोलि दिउँसो १ बजे हुने चुनावी सभालाई देउवा र प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । पाटनमा आयोजना हुने चुनावी सभाका लागि तयारी पूरा भएको उनले बताए । 

बिहान ११ बजे दार्चुलाको गोकुलेश्वरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर दुवै नेता बैतडीको पाटन आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । 

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर डडेल्धुरामा चुनावी सभालाई सम्बोधन गरेर दुई दिनदेखि धनगढीमा बसीरहेका छन् । उनले धनगढीमा नेता कार्यकर्ताहरुसंग चुनाव लक्षित भेटघाटलाई तीव्रता दिएका छन् । भोलि धनगढीबाटै देउवा पहाडी जिल्लाहरुमा आउने कार्यक्रम रहेको बताइएको छ । 

बैतडीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन सहित चुनावी मैदानमा होमिएका छन् । प्रतिनिधि सभा सदस्यका लागि माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य नरेन्द्र कुँवर (विजयसुन्दर) साझा उम्मेदवारका रुपमा चुनावी मैदानमा रहेका छन् । यस्तै प्रदेश सभा सदस्यका लागि प्रदेश सभा (क) क्षेत्रमा नेपाली कांग्रेसका बिरबहादुर बिष्ट र प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट साझा उम्मेदवारको रुपमा चुनावी मैदानमा रहेका छन् । 

यही कार्तिक १८ गते पाटनमै एमाले अध्यक्ष ओलीले एमालेको चुनावी सभालाई सम्बोधन गरेका थिए । त्यसको एक हप्ता नबित्दै गठबन्धनका शीर्ष नेताहरु बैतडी आउन लागेका हुन् । मतदाताहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि राजनीतिक दलहरुले चुनावी सभामा शीर्ष नेताहरुलाई बोलाउन लागेका हुन् । 

बैतडीमा प्रतिनिधि सभा सदस्यको एक सीटका लागि ११ जना चुनावी मैदानमा रहेका छन् । मुुख्य गरेर गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । एमालेका दामोदर भण्डारी तेश्रो पटक जित निकाल्ने रणनीतिमा लागेका छन् भने माओवादी केन्द्रका कुँवर कांग्रेस र एकीकृत समाजवादीको साथले जित हुने कुरामा ढुक्क रहेका छन् । 

यस्तै प्रदेश सभामा पनि एमाले र गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । प्रदेश सभा (क) क्षेत्रमा भने कांग्रेसबाटै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका हरिमोहन भण्डारीले पनि चुनावी प्रचारप्रसारलाई तिव्रताका साथ अगाडि बढाएका छन् । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  ०८:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update