बैतडी- बैतडीको प्रसिद्ध शक्तिपीठ फाल्ङासैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भएको छ । सुर्नया गाउँपालिका ५ बरायलस्थित प्रसिद्ध फाल्ङासैनी भगवती मन्दिरमा बलि सहित आज जात्रा सम्पन्न भएको हो ।
कार्तिक शुक्ल चतुर्दशीबाट मन्दिरमा जात्रा शुरु भएर कार्तिक शुक्ल पूर्णिमाका दिन राँगाको बलि सहित जात्रा समापन भएको मन्दिरका पूजारी विष्णुदत्त भट्टले बताए । उनका अनुसार फाल्ङासैनी भगवती मन्दिरमा ११ राँगा र दुई बोकाको बलि दिइएको छ ।
हरेक वर्ष फाल्ङासैनी भगवती मन्दिरमा कात्तिक शुक्ल चतुर्दशीको अवसरमा पूजाआजा सहित जात्रा लाग्ने गर्दछ । फाल्ङाशैनी भगवती मन्दिरमा शुक्ल चतुर्दशीका दिन राङ्गा तथा बोका बाँधिने र कात्तिक पूर्णिमाका दिन बलि हुने गरेको फाल्ङशैनी भगवती मन्दिररका पुजारी भट्टले बताए ।
शुक्ल चतुर्दशीका दिन मेला शुरु भई पूर्णिमाको साँझ मेला सकिने गरेको उनले बताए । वडा नं ५ स्थित बरायलमा लाग्ने जात्रा हेर्न छिमेकी पालिका पाटन दोगडा केदार गाउँपालिका सिगास गाउँपालिका र बैतडी सदरमुकामबाट समेत दर्शनार्थिहरु आउने गरेका स्थानीय जयन्त प्रशाद भट्टले बताए ।
यो मेलाले पछिल्लो समय व्यापार प्रर्वद्धनमा समेत टेवा पुगेको उनले बताए। यो मेलामा स्थानीय उत्पादनहरुको राम्रो व्यापार हुने गरेको उनको भनाई छ । स्थानीय स्तरमा उत्पादित साग तरकारी, फलफूलको व्यापार बढी हुने गरेको बताइएको छ ।
चोखो मनले फाल्ङासैनी भगवती माताको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । यो जात्रालाई स्थानीय भाषामा भवानि जात भन्ने चलन पनि रही आएको छ ।




