बैतडी –बैतडीको मेलौली नगरपालिकास्थित प्रसिद्ध मेलौली भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ । सो मन्दिरमा हरेक कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।
यो बर्षको जात्रा आज (मंगलबार) पशुबलि सहित सम्पन्न भएको स्थानीयहरुले बताएका छन् । मेलौली भगवती मन्दिरमा यो बर्ष ४३ राँगा र ५४ बोकाको बलि दिइएको छ । पूर्णिमाको बिहानै बलिसहित पूजाआजा भएपछि जात्रा सम्पन्न हुने गरेको छ ।
जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरुको समेत सहभागिता रहेको थियो । मेलामा यो बर्षपनि हजारौं दर्शनार्थीहरुले दर्शन गरेको मेलौली भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मेलौली मन्दिरमा लाग्ने जात्रालाई स्थानीय भाषामा ‘देहीजात’ भन्ने चलन रही आएको छ । यो जात्रामा टाढाटाढाबाट समेत दर्शनार्थीहरु आउने गरेका स्थानीय पदमराज जोशीले बताए ।
कार्तिक शुक्ल चतुर्दशीका दिन भण्डार घरबाट ल्याएको भगवतीको भण्डारलाई पूर्णिमाका दिन फेरी भण्डार घरमै पुर्याउने चलन रही आएको छ ।
यो जात्रामा स्थानीय कृषि उपजहरुले राम्रो बजार पाउने गरेका छन् । स्थानीय किसानहरुले उत्पादन गरेका केरा, सुन्तला, अदुवा लगायतका कृषि उपजहरुको यो जात्रामा राम्रो विक्रिवितरण हुने गरेको स्थानीय सुरत पार्कीले जानकारी दिए ।




