Sagun Khabar
बैतडीको मेलौली, शिवनाथ र पञ्चेश्वरमा एकैदिन नमूना मतदान सम्पन्न 

बैतडी –आसन्न निर्वाचनका लागि मतदाताहरुलाई मतदान गर्ने तरीका सिकाउने उद्देश्य सहित बैतडीका तीनओटा स्थानीय तहमा मंगलबार एकैदिन नमूना मतदान कार्य सम्पन्न गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयको आयोजनामा पञ्चेश्वरको आम्चोरा, शिवनाथको सुल्लेखान र मेलौलीमा नमूना मतदान सम्पन्न भएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुँयालले जानकारी दिए । 

पञ्चेश्वरमा ४३ मत खसेकोमा दुई मत बदर भएका छन् भने शिवनाथमा ३६ मत खसेकोमा एक मत बदर भएको छ । यस्तै मेलौलीमा ५३ मत खसेकोमा २ मत बदर भएका जिल्ला निर्वाचन अधिकारी फुँयालले बताए । 

नमूना मतदानमा, मतदान गर्ने तरीकाका बारेमा जानकारी दिने गरिएको उनले बताए । मंसिर ४ गते हुने निर्वाचनमा एकजना मतदाताले ४ ओटा मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ । मतदानको समयमा कसरी मतदान गर्ने, मतपत्र कसरी पट्याउने लगायतका बिषयमा नमूना मतदानमा जानकारी दिने गरिएको फुँयालले बताए ।

यसअघि जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नमूना मतदान सम्पन्न भइसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बुधबार सिगास र सुर्नया गाउँपालिकामा नमूना मतदान गर्ने योजना रहेको फुँयालले बताए । 
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २२, २०७९  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update