बैतडी –प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिक आएका बेला राजनीतिक दल र उम्मेदवारहरुले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । चुनाव नजिक आएपछि शीर्ष नेताहरुले दौडधुप गरिरहेका छन् ।
बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बैतडी आउँदैछन् ।
तीनै नेताले बैतडीको पाटनमा दिउँसो १ बजे चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शंकर भण्डारीले बताए । चुनावी सभाको तयारी पूरा भइसकेको उनले बताए ।
प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु पाटनमा आउने भएपछि पाटन बजार क्षेत्रलाई झकिझकाउ पारिएको छ । चुनावी सभामा जिल्लाभरीका लोकतान्त्रिक बाम गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहने नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए ।
तीनै जनाले आज बिहान ११ बजे हुने दार्चुलाको गोकुलेश्वर आयोजना हुने चुनावी सभालाई सम्बोधन गरेर बैतडी आउने कार्यक्रम रहेको जोशीले बताए । बैतडीपछि चुनावी सभालाई सम्बोधन गर्नका लागि नेताहरु कैलाली जाने कार्यक्रम रहेको छ ।
बैतडीमा प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । चुनाव नजिक आएपछि बैतडीमा शीर्ष नेताहरु आउने क्रम बढेको हो । यसअघि यही कार्तिक १८ गते एमालेका अध्यक्ष केपी शर्मा ओली पनि चुनावी सभालाई सम्बोधन गर्न बैतडी पुगेका थिए ।




