Sagun Khabar
भूकम्पले बैतडीमा केही घर चर्किए 
तस्बिर: भूकम्पले चर्किएको पाटन नगरपालिका, कृषि शाखाको भवन

बैतडी –गएराति गएको भूकम्पका कारण बैतडीका विभिन्न स्थानमा घरहरु चर्किएका छन् । पुराना तथा जीर्ण घरहरु चर्किएका छन् भने कतिपय ठाउँमा नयाँ घरहरुमा समेत चिरा परेका छन् । 

राति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दू बनाएर ६ दशमलब ६ म्यागनीच्युडको भूकम्प गएको थियो । भूकम्पको धक्का बैतडीमा समेत महसुस गरिएको थियो । भूकम्पका कारण डोटीको पूर्वीचौकीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ । 

भूकम्पका कारण पाटन नगरपालिकाको कृषि शाखा भवन चर्किएको नगरपालिका कृषि शाखा प्रमुख महेश अवस्थीले बताए । भूकम्पका कारण अन्य ठाउँमा समेत क्षति भएको हुन सक्ने उनले बताए । 

यस्तै भूकम्पका कारण दशरथचन्द नगरपालिका वडा नं १ का विभिन्न स्थानमा घरहरुमा चिरा परेका स्थानीय महेश भट्टले बताए । 

यता जिल्ला प्रहरी कार्यालयले भने भूकम्पका कारण क्षति भएको विवरण नआएको जनाएको छ । भूकम्पछि पराकम्पनहरु आउने भएकाले सतर्क रहन भूकम्प मापन केन्द्रले सबैमा आग्रह गरेको छ । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update