Sagun Khabar
सुदूरपश्चिमलाई बजेटमा प्राथमिकता दिइनेछ :  प्रचण्ड 

बैतडी –नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अब बन्ने बजेटमा सुदूरपश्चिमले प्राथमिकता पाउने बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनले बैतडीको पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सुदूरपश्चिमलाई प्राथमिकता दिएर बजेट बनाइने बताए । उनले भने ‘यो क्षेत्रमा विकास पूर्वाधार, पश्चिम सेती, झुलाघाटमा मोटरबेल पुल निर्मााणका काम हामी अगाडि बढाउँछौं । यो गठबन्धनलाई जिताउने तर्फ लाग्नुहोस ।’

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन शान्ति सम्झौताका पक्षधरहरुको भएको बताए । बाह्रबुँदे समझादारी देखि नै माओवादी र कांग्रेस मिलेर अगाडि बढेका उनले बताए । 

नेकपा एमालेका अध्यक्ष ओलीलाई इंगित गर्दै अध्यक्ष प्रचण्डले संसद विघटन गर्नेहरुलाई भोट नदिन आग्रह गरे । संसद विघटन गर्नेहरुलाई किन भोट दिने भनेर प्रश्न गर्न समेत उनले नागरिकलाई आह्वान गरे । उनले भने ‘यो संविधानको रक्षा, व्यवस्थाको रक्षाको लागि गठबन्धन भएको छ । त्यसैले गठबन्धनका पक्षमा मत जाहेर गर्न म आग्रह गर्दछु ।’

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर)लाई जिताएर पठाएमा मन्त्री बनाउने उनले दाबी गरे । यो क्षेत्रको विकासका लागि यहाँबाट जितेर जानेहरुलाई मन्त्री बनाउने उनले ठोकुवा गरे । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update