बैतडी –प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘बागी’उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनले बैतडीको पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले बागी उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई जिताउने तर्फ लाग्न उनले आग्रह गरे ।
नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द र हरिमोहन भण्डारीको नामै लिएर उनले उम्मेदवारी फिर्ता गरेर आधिकारिक उम्मेदवारलाई सघाउन उनले आग्रह गरे । उनले भने ‘म साथीहरुलाई आग्रह गर्न चहान्छु । अझै पनि समय छ । उम्मेदवारी निष्क्रिय गरेर आधिकारिक उम्मेदवारको पक्षमा भोलिदेखि नै लाग्नुहोस ।’
‘बागी’उम्मेदवारी फिर्ता नलिए कांग्रेसले कारवाही गर्ने बताउँदै सभापति देउवाले पछि कारवाही फुकुवा नहुने उनले बताए । बागी उम्मेदवारहरुलाई इंगित गर्दै उनले राजनीतिमा धैर्य गर्न सिक्नुपर्ने बताए ।




