Sagun Khabar
पञ्चेश्वर र पश्चिम सेतीले सुदूरपश्चिममा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा 

बैतडी –नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण कार्य सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुने दाबी गरेका छन् । बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढीसकेको बताए । 

भारतीय कम्पनीसंग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको र यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुने उनले दाबी गरे । उनले भने ‘पश्चिम सेतीको काम अघि बढीसकेको छ । यो निर्माण सम्पन्न भएपछि सुदूपश्चिममा कायापलट हुन्छ । किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ ।’

यस्तै प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने दाबी गरे । पञ्चेश्वरको काम अघि बढाउन भारतीय प्रधानमन्त्री समेत इच्छुक रहेको बताउँदै प्रधानमन्त्री देउवाले पञ्चेश्वर परियोजनाले पनि यो क्षेत्रमा कायापलट गर्ने बताए । 

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाइने बताए । पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्व विद्यालयको आंगिक क्याम्पस बनाइने उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक २३, २०७९  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update