बैतडी –बैतडीको सलेना स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएको छ । किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि सलेना स्वास्थ्यचौकीलाई बुधबार एक कार्यक्रमकाबीच किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण गरिएको हो ।
किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले सलेना स्वास्थ्यचौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाले जानकारी दिए । नेपाल सरकारले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेकाले स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरी मैत्री घोषणा गर्ने गरिएको उनले बताए ।
सलेना स्वास्थ्यचौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले सहयोग गरेको थियो । सो स्वास्थ्य संस्थाले ९६.५ प्रतिशत सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको हो ।
किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएकाले अब स्थानीय तहहरुले पनि किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि पहल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
बैतडीमा अहिले सम्म ११ ओटा स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएकाले अन्य स्वास्थ्यचौकीलाई पनि किशोरकिशोरी मैत्री बनाउनुपर्नेमा आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए । यस्तै किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएपछि किशोरकिशोरीहरुले सहजै स्वास्थ्य सेवा पाउने भएकाले यो कार्यक्रमलाइृ प्राथमिकतामा राखेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए ।
सलेना स्वास्थ्यचौकीबाट किशोरकिशोरीहरुका लागि आवश्यक स्वास्थ्य सेवाहरु प्रदान भइरहेका र यसलाई अझै प्रभावकारी बनाइने सलेना स्वास्थ्यचौकीका प्रमुख प्रकाशबहादुर चन्दले बताए ।




