Sagun Khabar
झुलाघाटमा मोटरेबल पुल बनाउने प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुको दाबी, बन्ला त पुल ? 

बैतडी –भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा करीब डेढ सय बर्ष पुरानो झोलुंगे पुल रहेको छ । भारतसंगको यो पुरानो नाका भएपनि मोटरेबल पुल नहुँदा यो क्षेत्रको व्यापार व्यवसायमा असर पर्दै आएको छ । 

पछिल्लो समयमा झुलाघाटमा पक्की पुल निर्माणको कुरा चुनावी एजेण्डा बन्दै आएको छ । गएका १० ÷१५ बर्षदेखि झुलाघाटमा पक्की पुल निर्माणको कुरा नेताहरुले उठाउँदै आएका छन् । चुनावका समयमा झुलाघाटमा पक्की पुल निर्माणको चर्चा हुने गरेको छ । 

मंसिर ४ को चुनाव नजिक आएका बेला मुख्य दलका शीर्ष नेताहरुले झुलाघाटमा पक्की पुल निर्माणको कुरा चुनावी एजेण्डा बनाएका छन् । शीर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दै झुलाघाटमा पक्की पुल निर्माण गर्ने दाबी समेत गरेका छन् । 

यही कार्तिक १८ गते पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाटमा पक्की पुल निर्माण हुने आश्वासन दिए । एमालेको सरकारले मात्रै झुलाघाटमा पक्की पुल निर्माण गर्ने र त्यो काम आफूले पूरा गर्ने बताए । उनले भने ‘झुलाघाटमा पक्की पुल निर्माणको काम एमालेको सरकारले गर्छ । त्यो म पूरा गर्छु ।’

बुधबारमात्रै पाटनमै आयोजित लोकतान्त्रिक बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले झुलाघाटमा पक्की पुल निर्माणका लागि पहल गर्ने बताए । उनले भने ‘गठबन्धनका उम्मेदवारहरुलाई जिताउनोस । गठबन्धनको सरकार निर्माण भएपछि झुलाघाटमा पक्की पुल निर्माणको काम अघि बढाउँछौं ।’

यस्तै सोही सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय समकक्षीसंग वार्ता गरेर झुलाघाटमा पक्की पुल निर्माण गर्ने बताए । उनले भने ‘यो पुरानो नाका हो । यसको स्तरोन्नतीका लागि पक्की पुल निर्माणको पहल हुन्छ । यो पुल म बनाएरै छोड्छु ।’

देशका प्रधानमन्त्री एवं पूर्वप्रधानमन्त्रीहरुले झुलाघाटमा पक्की पुल निर्माणको आश्वासन दिएपनि नागरिक भने विश्वास मानिरहेका छैनन् । यो भन्दा पहिलाका चुनावमा पनि नेताहरुले पुल निर्माणको आश्वासन दिएकाले यो चुनावी एजेण्डा मात्रै भएको स्थानीय आनन्दमणी भट्टले बताए । उनले भने ‘यो पुल निर्माणको कुरा चुनावका बेला मात्रै उठ्छ । तर पछि कसैले पहल गर्दैनन् ।’

झुलाघाटमा पक्की पुल निर्माणका लागि बैतडी उद्योग वाणिज्य संघको अगुवाईमा ३६ दिन लामो रिले अनसन समेत बसेको थियो । तर पुल निर्माणका लागि कसैले पहल नगरेको बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले बताए । 

झुलाघाट नाकामा इष्टइण्डिया कम्पनीले निर्माण गरेको पुरानो झोलुंगे पुलबाटै आवतजावत गर्ने गरिएको छ । यो नाका भएर सुदूरपश्चिमका मात्रै नभए कर्णाली प्रदेशका नागरिक समेत भारत पस्ने गरेका छन् । झुलाघाट नाकामा पक्की पुल निर्माणको माग सीमावर्ती भारतीय नागरिकले समेत राख्ने गरेका छन् । तर अहिले सम्म पुल निर्माणको काम हुन सकेको छैन् । 

महाकाली अन्तर्राष्ट्रिय सीमा नदी भएकाले पुल निर्माणका लागि भारत सरकारको सहमति आवश्यक हुन्छ । दुवै देशले तयार भएमा मात्रै यो पुल निर्माणको काम अघि बढ्न सक्छ । तर भारतले पञ्चेश्वर परियोजना निर्माण भए झुलाघाट क्षेत्र डुबानमा पर्ने भन्दै पुल निर्माणमा अनिच्छा देखाउँदै आएको छ । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  ०८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update