बैतडी- नेपाली कांग्रेस बैतडीले नेतृ सरस्वती कोलीलाई पार्टीबाट निष्कासन गरेको छ । सत्ता गठबन्धनका उम्मेदवार विरुद्ध गएर बागी उम्मेदवारको पक्षमा प्रचार गरेको भन्दै कांग्रेस बैतडीले नेतृ कोलीलाई पार्टीबाट निष्कासन गरेको हो ।
बिहीवार एक बिज्ञप्ती जारी गर्दै काँग्रेस बैतडीले आजैदेखि पदिय जिम्मेवारीबाट मुक्त गरि पाँच पर्षका लागि साधारण सदस्य समेत नरहनेगरि पार्टीबाट निष्कासन गरेको जनाएको छ । स्पष्टीकरण सोध्दा समेत स्पष्टीकरण नदिएकाले पार्टीबाट निष्कासन गरिएको नेपाली कांग्रेसले जनाएको छ । पाटन नगरपालिकाकी निर्वतमान उपप्रमुख समेत रहेकी काँग्रेस नेतृ कोली बागी उम्मेदवार हरिमोहन भण्डारीको पक्षमा छिन् ।
बागीका पक्षमा लागेकालाई काँग्रेस बैतडीले धमाधम पार्टीबाट निष्कासित गरि रहेको हो । यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेको भन्दै सिगास गाउँपालिका समिति उपसभापति धनबहादुर साउँद, पाटन नगर सभापति मानबहादुर ऐर, दलित संघका जिल्ला अध्यक्ष रमेश कोली लगायतलाई पनि निष्कासन गरिसकेको छ ।
पार्टीका पाटन नगर सहसचिव कृष्णा पन्तले राप्रपा नेपालबाट उम्मेदवारी दिएकाले उनलाई पनि पार्टीबाट निष्कासन गरिसकिएको कांग्रेस बैतडीले जनाएको छ । पार्टीको निर्णय विपरीत जाने जो कोहीलाई पनि कारवाही हुने नेपाली कांग्रेस बैतडीका अनुशासन समिति संयोजक देवराज जोशीले बताए ।
नेपाली कांग्रेसले ‘बागी’उम्मेदवारी दिएका बैतडीका महाधिवेशन प्रतिनिधि केशवबहादुर चन्द र हरिमोहन भण्डारीलाई पनि पार्टीबाट निष्कासन गरिसेकेको छ ।




