बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ९ का वडा अध्यक्ष कालुसिंह भाटले आफूले पाउने पारिश्रमिकबाट वडाबासीको बिद्युतको बील तिर्न थालेका छन् । चुनावको समयमा वडाबासीको विद्युत बील तिर्ने प्रतिबद्धता जनाएका भाटले सो प्रतिबद्धता कार्यान्वयन गर्न थालेका हुन् ।
निर्वाचनका समयमा नागरिक सामू गरेका वाचा पूरा गर्नका लागि आफूले वडाबासीको २० युनिट सम्मको विद्युत महसुल पारिश्रमिकबाट तिर्ने गरेको वडा अध्यक्ष भाटले बताए । उनले भने ‘२० युनिट सम्मको बिजुली फ्रि गर्ने हाम्रो घोषणा थियो । सोही अनुसार मैले विद्युत बील तिर्न थालेको छु ।’
वडामा रहेका करीब २ सय घरघधुरीको छ महिनाको विद्युत महशुल बुझाइ सकेको वडा अध्यक्ष भाटले बताए । वडामा करीब ३ सय घरधुरी रहेका र बाँकी घरधुरीको विद्युत महसुल तिर्ने प्रक्रियामा रहेको उनले बताए ।
नागरिकको पक्षमा काम गर्नका लागि आफू निर्वाचन लडेको र जनताले चुनेपछि उनीहरु सामू गरेका प्रतिबद्धता पूरा गर्ने दिशामा आफू अगाडि बढेको अध्यक्ष भाटले बताए । उनले भने ‘हामीले चुनावका बेला मात्रै प्रतिबद्धता गर्ने होइन् । चुनावका बेला गरेका प्रतिबद्धताहरु पूरा गर्ने तर्फ पनि हाम्रो ध्यान जानुपर्दछ ।’
गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भाट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । सो वडामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले गठबन्धन गरेर चुनाव लडेका थिए ।
गठबन्धनको साझा प्रतिबद्धता अनुसार वडामा जनप्रतिनिधिहरुका तर्फबाट काम भइरहेको जिल्ला समन्वय समितिका सदस्य प्रेमसिंह भाटले बताए । वडा अध्यक्ष लगायत वडाको सिंगो टीम नागरिकका समस्या समाधानमा केन्द्रित रहेको उनले बताए ।




