Sagun Khabar
बैतडीको श्रीकेदार स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री प्रमाणीकरण 

बैतडी –बैतडीको श्रीकेदार स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएको छ । किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक पर्ने न्यूनतम सूचक पूरा गरेपछि श्रीकेदार स्वास्थ्यचौकीलाई बिहीबार एक कार्यक्रमकाबीच किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण गरिएको हो । 

किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाका लागि आवश्यक मापदण्ड पूरा गरेकाले श्रीकेदार  स्वास्थ्यचौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्थाको प्रमाण पत्र प्रदान गरिएको परिवार कल्याण महाशाखाका विष्णु बास्कोटाले जानकारी दिए । नेपाल सरकारले किशोरकिशोरी मैत्री स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेकाले स्वास्थ्यचौकीहरुलाई किशोरकिशोरी मैत्री घोषणा गर्ने गरिएको उनले बताए । 

श्रीकेदार स्वास्थ्यचौकीलाई किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरणका लागि संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) र आड्रा नेपालले प्राविधिक सहयोग गरेको थियो । सो स्वास्थ्य संस्थाले ९२.७५ प्रतिशत सूचक पूरा गरेकाले किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण गरिएको हो । 

किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा अहिलेको आवश्यकता भएकाले अब स्थानीय तहहरुले पनि किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था घोषणाका लागि पहल गर्नुपर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । 

बैतडीमा अहिले सम्म १२ ओटा स्वास्थ्यचौकी किशोरकिशोरी मैत्री स्वास्थ्यचौकी प्रमाणीकरण भएकाले अन्य स्वास्थ्यचौकीलाई पनि किशोरकिशोरी मैत्री बनाउनुपर्नेमा आड्रा नेपालका कार्यक्रम संयोजक राजीव यादवले बताए । यस्तै किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरण भएपछि किशोरकिशोरीहरुले सहजै स्वास्थ्य सेवा पाउने भएकाले यो कार्यक्रमलाइृ प्राथमिकतामा राखेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । 

दोगडाकेदार गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य संस्था प्रमाणीकरणका लागि पालिकाले पहल गरिरहेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले बताइन् । पालिकाभरी रहेका माध्यमिक तहका विद्यालयहरुमा किशोरकिशोरी मैत्री सूचना केन्द्र स्थापनाका लागि समेत पहल गर्ने उनले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update