बैतडी –गएको मंगलबार राति खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण बैतडीका विभिन्न विद्यालयहरुमा क्षति पुगेको छ । ६ दशमलब ६ म्याग्नीच्युडको भूकम्प जाँदा घर भत्किएर डोटीमा ६ जनाको ज्यान गएको थियो ।
भूकम्पका कारण पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाको भवन चर्किएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले जानकारी दिए । विद्यालयको नयाँ र पुरानो भवनमा चिरा परेको उनले बताए ।
यस्तै पाटन नगरपालिका ८ स्थित सिद्धदीप आधारभूत विद्यालयको भवनमा पनि क्षति पुगेको विद्यालयले जनाएको छ । विद्यालय भवनमा चिरा परेको बताइएको छ ।
यस्तै पाटन नगरपालिका ९ स्थित ज्ञानेश्वर माविको भवनमा पनि क्षति पुगेको छ । भूकम्पका कारण विद्यालय भवनमा चिरा परेको विद्यालयका सहायक प्रधानाध्यापक धनबहादुर महराले बताए ।
यस्तै डोटीसंग सीमाना जोडिएको बैतडीको सिगास गाउँपालिकाका विभिन्न विद्यालयहरुमा भूकम्पले क्षति पुर्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश भट्टले बताए ।
बैतडीमा नयाँ बनेका विद्यालय भवनहरु भूकम्प प्रतिरोधी बनाएका भनिएपनि धेरै जसो ठाउँमा नयाँ भवनमा समेत भूकम्पले चिरा परेको छ । जिल्लामा ५४६ ओटा सामुदायिक विद्यालय रहेका छन् । विद्यालयहरुमा भूकम्पले पुर्याएको क्षति बिषयमा विवरण संकलन गर्न आग्रह गरिएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए ।




