बैतडी –नेपाली कांग्रेस बैतडीले १२ जना नेता कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको अनुशासन उल्लंघन गरेको, बागी उम्मेदवारलाई सहयोग गरेको र पार्टीको हित विपरीत काम गर्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर निष्कासन गरिएको कांग्रेसको अनुशासन समिति बैतडीका संयोजक देवराज जोशीले बताए ।
६ जनालाई पार्टीको केन्द्रिय कार्यालयले कारवाही गरेको हो भने ६ जनालाई जिल्ला अनुशासन समितिले कारवाही गरेको जोशीले बताए ।
पार्टी निर्णय विरुद्ध ‘बागी’उम्मेदवारी दिएका केशवबहादुर चन्द र हरिमोहन भण्डारी, उनका समर्थक र प्रस्तावकलाई केन्द्रिय कार्यालयले पार्टीबाट निष्कासन गरेको जोशीले बताए ।
जिल्लामा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लागेकाहरुलाई जिल्लाले कारवाही गरेको संयोजक जोशीले बताए । पाटन नगरसभापति मानबहादुर ऐर, सिगास गाउँ उपसभापति धनबहादुर साउँद, दलित संघ अध्यक्ष रमेश कोली, महिला नेतृ सरस्वती कोली, पाटन नगर सहसचिव कृष्णा पन्त लगायतलाई पार्टीबाट कारवाही गरिएको जोशीले बताए ।
निर्वाचनको समयमा पार्टीका उम्मेदवार विरुद्ध लाग्ने, पार्टीको निर्णय नमान्नेहरुलाई साधारण सदस्य समेत नरहने गरेर कारवाही गरिएको जोशीले बताए । यस्तै पार्टीका उम्मेदवार विरुद्ध लागेका र पार्टीको विधान विपरीत लागेका केही नेता कार्यकर्ताहरुलाई स्पष्टीकरण सोधिएको छ । कति जनालाई स्पष्टीकरण सोधिएको भन्ने बिषयमा कांग्रेसले खुलाएको छैन् ।




