बैतडी –साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले दुई बर्ष अघि अस्वीकृत भएको नुन अझै भारतलाई फिर्ता पठाउन सकेको छैन् । २०७७ असोजमा साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीले खरिद गरेको २ हजार ५ सय मेट्रिक टन खान अयोग्य नुन अहिले पनि गोदाममै थन्किएको छ ।
दुई बर्ष अघिदेखि गोदाममा थन्किएको नुन फेरी परीक्षण गर्न थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले नुनको नमूना लगेर परीक्षण गरिरहेको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीका निमित्त प्रमुख तेजबहादुर कुँवरले बताए ।
दुई बर्ष अघि नै खान अयोग्य भनिएको नुनलाई फेरी परीक्षण गर्न थालेपछि नुन विक्रि गर्ने चलखेल शुरु भएको समाचार श्रोतले बताएको छ । दुई बर्ष अगाडि खरीद गरिएको नुन खान अयोग्य भनेर भारतलाई फिर्ता पठाउन भनिएको थियो । यो नुनको प्रयोग गरेमा मुटु र क्यान्सर रोग हुन सक्ने भनिएपछि त्यो बेला नुनलाई भारत पठाउन भनिएको थियो । तर त्यो नुन अहिले सम्म गोदाममै थन्किएको छ । त्यो नुन अहिले सम्म गोदामै थन्किएको बिषयमा भने आफूलाई थाहा नभएको निमित्त कार्यालय प्रमुख कुँवरले बताए । उनले भने ‘यो भन्दा पहिला अर्कै कार्यालय प्रमुख हुनुहुन्थ्यो । नुन किन थन्कियो भन्ने बारेमा मलाई थाहा छैन् । तर अहिले त्यो नुन जुन अवस्था छ । त्यही अवस्थामा छ । विक्रि गर्ने भन्ने कुरा हल्ला मात्रै हो ।’
साल्ट ट्रेडिङका एकजना कर्मचारी काठमाण्डौंबाट धनगढी आएका बेला नुन विक्रि गर्ने योजना बनिरहेको श्रोतले जनाएको छ । तर यो कुरा साल्ट ट्रेडिङका कार्यालय प्रमुख भने मान्न तयार भएका छैनन् । कार्यालयको अनुगमनका लागि काठमाण्डौंबाट मान्छे आएका उनले बताए ।
दुई वर्षदेखि गोदाममा राखिएको नुनको बोरामा प्याकेजिङ गरिएको र उपभोग गरिसक्नुपर्ने मिति उल्लेख नै गरिएको छैन । सामान्यतया कुनै पनि खाद्यवस्तुको निश्चित उपभोगको मिति हुन्छ । तर साल्ट ट्रेडिङ धनगढीको गोदाममा राखिएको ५ करोडको नुनमा प्याकेजिङ गरिएको र उपभोग गरिसक्नुपर्ने मिति नै उल्लेख छैन ।




