बैतडी –तीन वर्षीय बालकको आँखामा ट्यूमर पलाएपछि शल्यक्रिया गरेर बाँया आँखा निकालिए पनि आर्थिक अभावमा थप उपचार गर्न समस्या भएको छ । बैतडी जिल्लाको दशरथचन्द नगरपालिका –५, बस्कोट निवासी नरेश दमाईका तीन वर्षीय छोरा हिमांशु दमाईको तिलगङ्गा आँखा अस्पतालमा बाँया आँखा शल्यक्रिया गरेर निकालिएको छ । रोग फैलिन नदिन किमो थेरापीका लागि बालकलाई थप उपचारका लागि कान्ति बाल अस्पताल रेफर गरिए पनि आर्थिक अभावमा उपचार हुन नसकेको परिवारले पीडा सुनाएका छन् ।
ज्याला मजदुरी गरेर गुजारा गर्दै आउनु भएका नरेश दमाईले कान्ति बाल अस्पताल काठमाडौंमा किमो थेरापी गर्न आर्थिक समस्या भएको बताए ।
शल्यक्रिया गरेर बालकको आँखा निकालिए पनि छ महिनासम्म किमो थेरापी गर्दा करिब सात लाख रुपियाँ खर्च लाग्ने चिकित्सकले बताएको उनले पीडा सुनाए ।
समान्य गरिबले यति धेरै रकम कहाँबाट ल्याउने भन्दै उहाँले छोराको उपचारका लागि मनकारीसँग सहयोगको याचना गरेका छन् ।
आर्थिक सङ्कटले बालको उपचारमा समस्या भएपछि बैतडीका युवाहरुले हिमांशु बचाउ अभियान सञ्चालन गरेर पीडित बालकको बुवाको खातामा रुपैंया जम्मा गर्ने गरेको रोयल हिल युथ क्लबका मोहित भण्डारीले बताए ।




