बैतडी –मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिममा १७ हजार आठ सय ५९ सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ११ हजार पाँच सय ५९ म्यादी प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरेर छ हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएका बताइएको छ ।
निर्वाचनलाई लक्षित गरेर सबै निकायका सुरक्षाकर्मी परिचालन भइसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । यस्तै निर्वाचनका बेला एक सय ७७ वटा मोबाइल टोली परिचालित हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । २० वटा रिजर्भ टिम तयार पारी सो टिमलाई आवश्यकतानुसार मात्रै परिचालन हुने जनाइएको छ ।
कैलालीमा दुई हजार आठ सय १२, कञ्चनपुरमा एक हजार छ सय ३२, बाजुरामा सात सय ४९, डोटीमा नौ सय ५३, डडेल्धुरामा नौ सय ३७, अछाममा एक हजार दुई सय ६८ म्यादी प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी बझाङमा एक हजार एक सय ८८, दार्चुलामा आठ सय २९ र बैतडीमा एक हजार एक सय ९१ म्यादी प्रहरी परिचालन गरिएको रावलले बताए ।




