बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ धुलिधारका बासिन्दाहरुले यो चुनावमा पनि खानेपानीकै माग दोहर्याएका छन् । २०७४ सालको निर्वाचनमा खानेपानीको माग गरेका मतदाताहरुले ५ बर्ष सम्म पनि माग पूरा नभएको बताएका छन् । चुनावका बेला खानेपानी दिन्छु भनेर उम्मेदवारहरुले ५ बर्ष अघि पनि प्रतिबद्धता जाहेर गरेका थिए । तर अहिले सम्म गाउँमा खानेपानीको व्यवस्थापन नभएको स्थानीय धिरेन्द्र बिष्टले बताए । गाउँमा मत माग्न आउनेहरुलाई आफूहरुको एउटै माग खानेपानीको व्यवस्थापन गर्नु रहेको उनले बताए । उनले भने ‘अहिले हामीलाई खानेपानीको निकै समस्या रहेको छ । खानेपानीको समस्या समाधान गर्ने नेतालाई हामीले भोट दिन्छौं ।’
गाउँमा आएको पुरानो खानेपानी योजना जीर्ण भईसकेकाले खानेपानीको निकै समस्या रहेको स्थानीय सरस्वती बिष्टले बताइन् । खानेपानीकै लागि एकघण्टा टाढाको मूहानबाट पानी ल्याउनु परिरहेको उनले बताइन् । हिउँदे याम शुरु भएसंगै खानेपानीको हाहाकार हुन थालेको उनले बताइन् । खानेपानीको समस्या समाधान गर्ने आश्वासन चुनावको बेला पाइन्छ। तर समस्या समाधानमा कसैले ध्यान नदिएको उनले गुनासो गरिन् । उनले भनिन् ‘खानेपानीका लागि घरको एकजनाले व्यस्त रहनुपर्ने अवस्था छ । खानेपानीको जोहो गर्न निकै मुस्किल छ ।’
खानेपानीकै कारण आफूहरुले निकै समस्या झेल्नुपरेको अर्का स्थानीय केशव बिष्टले बताए । उनले भने ‘खानेपानीको समस्या समाधान जसले गर्छ उसलाई भोट दिने भनेका छौं । खानेपानीको समस्या समाधान हाम्रो पहिलो शर्त छ ।’
गाउँमा भोट माग्न आउने सबैलाई खानेपानीको व्यवस्थापनका लागि आग्रह गरेको स्थानीय धिरेन्द्र बिष्टले बताए । गाउँमा आउने सबै उम्मेदवारहरुले खानेपानीको व्यवस्थापन गर्ने आश्वासन दिएको उनले बताए ।
गएको स्थानीय तहको निर्वाचनमा समेत धुलिधारका बासिन्दाहरुले खानेपानीकै माग राखेका थिए । तर अहिले सम्म सो ठाउँमा खानेपानीको व्यवस्थापनका लागि कसैले पहल नचालेको स्थानीय दीपक बिष्टले बताए । उनले भने ‘हाम्रो गाउँमा खानेपानीको समस्या छ । तर समस्या समाधानका लागि कसैले पहल गर्दैनन् । चुनावका बेला मात्रै आश्वासन दिन्छन् । त्यसपछि कोही फर्किदैनन् ।’




