बैतडी –नेपाल र भारतको संयुक्त लगानि बन्ने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अझै अघि बढ्न सकेको छैन् । पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि नेपाल र भारतबीच सहमति भएको ३ दशक हुनै लाग्दा समेत यसको काम अघि बढ्न नसकेको हो ।
३१५ मिटर बाँध बाँधेर ६ हजार ४८० मेगावाट विद्युत उत्पादन गर्न सकिने आयोजनाको काम अघि नबढ्दा यो क्षेत्रका नागरिक निराश बनेका छन् । २०५२ सालपछिका हरेक निर्वाचनमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चुनावी एजेण्डा बन्दै आएको छ । यो क्षेत्रबाट उम्मेदवार बन्नेहरु मात्रै नभएर देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले समेत पञ्चेश्वर आयोजना बन्ने आश्वासन दिन थालेको तीन दशक पुग्न लागेको छ । तर पञ्चेश्वरको काम अझै पनि अगाडि नबढ्दा अब काम हुने आसा मरेको स्थानीय रामबहादुर चन्दले बताए । उनले भने ‘हरेक निर्वाचनमा पञ्चेश्वरलाई चुनावी हतियार बनाइन्छ । तर यसको निर्माणका लागि पहल हुन सकेको छैन् ।’
मंसिर ४ गते हुने निर्वाचनका लागि समेत उम्मेदवार र दलहरुले पञ्चेश्वरलाई चुनावी एजेण्डको रुपमा अघि सारेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम अघि बढेमा सुदूरपश्चिममा कायापलट हुने दाबी गरे । यसै साता बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भारतीय समकक्षी समेत यो आयोजना अगाडि बढाउन इच्छुक रहेकाले आयोजनाको काम अघि बढ्ने दाबी गरे ।
यो भन्दा पहिलाको चुनावहरुमा पनि राजनीतिक दलका उम्मेदवारहरुले आफ्नै पालामा पञ्चेश्वरको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए । नेता र सांसदहरुले पञ्चेश्वरको काम अघि बढाउँछौं भनेको बर्षौं भइसक्दा समेत काम अघि बढ्न नसकेको पञ्चेश्वरका स्थानीय बीरबहादुर चन्दले बताए । उनले भने ‘पञ्चेश्वर आयोजनाको कुरा धेरै पहिलादेखि उठेको भएपनि त्यसको काम अघि बढ्न सकेको छैन् । चुनावको मुखमा सबैले बनाउँछौं भन्छन् तर काम अघि बढ्दैन् ।’
२०६६ साल मंसिर ९ गते पञ्चेश्वर विकास प्राधिकरण गठन गरेर आयोजनाको कामलाई अघि बढाउने दुवै देशबीच सहमति भएपनि काम भने अगाडि बढ्न सकेको छैन् । दुवै देशको सहमति भएमा मात्रै यो आयोजनाको काम अघि बढ्ने भएकाले धेरै लामो समयदेखि पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चाको शिखरमा रहेको छ । आयोजनाको काम अघि बढाउने भनेर नेताहरुले धेरै पटक भनेपनि काम अघि नबढ्दा अब पञ्चेश्वर बन्ने होइन कि भन्ने आशंका हुन थालेको प्रभावित क्षेत्रका नागरिकहरुले बताएका छन् । नेताहरुले यसलाई चुनावी एजेण्डा मात्रै बनाउन नहुने शिक्षक महामलसिंह साउँदले बताए । उनले भने ‘पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चुनावको समयमा मात्रै चर्चामा आउने गरेको छ । यो आयोजना कार्यान्वयनको चरणमा लग्नु आवश्यक छ ।’




